शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म 'झरीपछिको इन्द्रेणी' सेन्सर पास भएको छ।
चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको हो। योसँगै फिल्म हरेक उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।
यसैबीच, फिल्मको फिल्मको रनटाइम पनि अन्तिम रूपमा तय भएको छ। निर्माताका अनुसार फिल्मको कुल लम्बाई २ घण्टा १९ मिनेट छ।
यो फिल्मलाई सेन्सर बोर्डका पदाधिकारीले राम्रो प्रतिक्रिया दिएका छन्। मनोरञ्जनसँगै गहिरो सन्देश दिने भन्दै तारिफ गरेको निर्देशक अर्जुन घिमिरे 'पाँडे' ले बताए।
हालै नेपालमा घटेका वास्तविक घटनाको झल्को दिने कथावस्तु रहेको फिल्मले गहन विषयलाई सूक्ष्म ढंगले प्रस्तुत गरेको भन्दै सेन्सर बोर्डले प्रशंसा गरेको निर्देशक घिमिरेको भनाइ छ।
फिल्ममा समावेश काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गीत 'आम नेपाली बुवा' सार्वजनिक भएसँगै 'झरीपछिको इन्द्रेणी' को थप चर्चा भइरहेको छ।
गीतप्रति देखिएको आकर्षणको सकारात्मक प्रभाव बक्सअफिसमा देखिने विश्वास निर्माण टिमको छ। फिल्मको अग्रिम टिकट बुकिङ यसअघि खुलिइसकेको छ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमब्याक गर्दैछन्।
फिल्ममा उनीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ। फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन्। बाल कलाकारमा दिप्सन चिलवालको अभिनय छ।
अनिशा सेन्दाङ लिम्बु फिल्मको निर्माता तथा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माता छन्।