फिल्म 'झरीपछिको इन्द्रेणी' को गीत 'आम नेपाली बुवा' लाई रिलिजको २४ घण्टामा युट्युबमा १० लाखभन्दा बढीपटक हेरिएको छ।
आइतबार राती सार्वजनिक यो र्याप गीतले युट्युबमा लोभलाग्दो माया पाएको हो। यो गीतमा काठमाडौं महानगरपालिका मेयर तथा र्यापर बालेन शाहको र्याप समावेश छ। यसको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता 'कुन मन्दिरमा जान्छौ यात्री' समावेश गरिएको छ। जसको मूल स्वर रविन शर्मा र संगीत रञ्जित गजमेरको हो।
'आम नेपाली बुवा' मा र्याप गायनसँगै त्यसको शब्द पनि बालेनको हो। दीक्षा उप्रेतीको कोरस गायन छ। आम बुवाको संघर्ष, भावना र जिम्मेवारीलाई बालेनले प्रस्तुत गरेका छन्। गीतको भिडिओमा भने फिल्मका दृश्यहरूलाई समेटिएको छ। बालेनले हालै दिवंगत आफ्ना बुवा डा. रामनारायण शाहप्रति गीत समर्पित गरेका छन्।
अर्जुन घिमिरे 'पाँडे' निर्देशित 'झरीपछिको इन्द्रेणी' पुस ४ अर्थात यही शुक्रबारदेखि प्रदर्शन तयारीमा छ। फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेललगायत कलाकारहरूको अभिनय छ। फिल्मको ट्रेलर र ‘फसायो लमीले’ बोलको गीत सार्वजनिक भइसकेको छ।
निर्देशक तथा कलाकार अर्जुन घिमिरे 'पाँडे' ले २४ घण्टाको छोटो समयमै 'आम नेपाली बुवा' गीतले दर्शकबाट पाएको मायाले उत्साहित बनाएको बताएका छन्। यो गीत बालेनकै अफिसियल युट्युबमा सार्वजनिक छ।