नीर शाह अभिनीत फिल्म 'परान' को कमाइ १७ करोड नजिक पुगेको छ।
दीपक आचार्य निर्देशित फिल्मले मंसिर २० गते शनिबारसम्म सिनेपाः बक्सअफिसमा १६ करोड ९७ लाख ९३ हजार ३५४ रूपैयाँ ग्रस कमाइ गरेको हो।
चलचित्र विकास बोर्डले सोमबार फिल्मको पछिल्लो कमाइ सार्वजनिक गरेको छ। जसअनुसार फिल्मको ५ लाख ९८ हजार ३०९ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
कात्तिक १४ मा रिलिज 'परान' ले सुरूका दिन निराशाजनक व्यापार गरेको थियो। निर्माण पक्षका अनुसार रिलिजको दिन फिल्मले ६ लाख रूपैयाँ पनि व्यापार गर्न सकेको थिएन्। दोस्रो दिन शनिबार पनि फिल्मको व्यापार निराशाजनक रहँदा धेरैले यसलाई हलबाट चाँडै ओर्लिने सूचीमा राखिसकेका थिए।
यद्यपि, पारिवारिक कथामा बनेको फिल्मको 'वर्ड अफ माउथ' यति बलियो भयो कि एकाएक हलमा दर्शकहरूको भिड लाग्न थाल्यो। अन्ततः यो फिल्म यस वर्षकै सर्वाधिक कमाउने फिल्म बन्यो।
'परान' अहिले प्रदर्शनको छैठौं सातामा छ। फिल्ममा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय छ।
यो फिल्मका निर्माता शेखर गोल्छा र रञ्जित आचार्य हुन्।