यस वर्षको दसैंमा फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' गरी तीनवटा नेपाली फिल्म एकसाथ प्रदर्शनमा आए।
यस वर्ष दसैंका फिल्मको व्यापार गत वर्ष जस्तो राम्रो भने भएन। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज २० गतेसम्मको बक्स अफिस विवरण अनुसार तीन फिल्मको कुल कमाइ ९ करोड माथि छ। गत सोमबारसम्म ८ दिनको तथ्यांक विकास बोर्डले बुधबार सार्वजनिक गरेको थियो। जसमा सन्तोष सेन निर्देशित फिल्म 'बलिदान' ले तीनमध्ये सबभन्दा धेरै व्यापार गर्न सफल भएको छ।
यो फिल्मले ३ करोड ७५ लाख ५३ हजार २५१ रूपैयाँ ग्रस कलेक्सन गरेको छ। १ लाख १९ हजार ५६१ टिकट बिक्रीबाट यो फिल्मले उक्त कमाइ गरेको हो।
त्यस्तै, दीपेन्द्र के. खनाल निर्देशित फिल्म 'हरिबहादुरको जुत्ता' ले तीन करोड २१ लाख ७० हजार १६० रूपैयाँ ग्रस कमाएको छ। यो फिल्मको गत सोमबारसम्म ९० हजार ९४७ टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
त्यस्तै, मिलन तामाङ निर्देशित फिल्म 'माइतीघर' ले ८ दिनमा दुई करोड १३ लाख ६४ हजार ६९२ को ग्रस कलेक्सन गरेको छ। यो फिल्मको ६८ हजार ३२ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ। यो विवरण चलचित्र विकास बोर्डद्वारा स्वीकृत भई वार्षिक अद्यावधिक समेत भएका सिनेमा घरका पर्दाहरुको रहेको बोर्डले जनाएको छ।
मंगलबारदेखिको बक्स अफिस रिपोर्ट भने सार्वजनिक भएको छैन। तीनवटै फिल्म गत सोमबारदेखि दोस्रो सातामा प्रदर्शन भइरहेका छन्।