नेपाली फिल्म 'परान' ले दिग्गज अभिनेता नीर शाहलाई प्रमुख रूपमा चित्रित गर्दै नयाँ पोस्टर सार्वजनिक गरेको छ।
दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्मको सोमबार नयाँ पोस्टर सार्वजनिक गरिएको हो। यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा यसपटक नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा उनी शंख फुक्दै गरेको अवस्थामा छन्। उनको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ।
यो दृश्यले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने संकेत दिन्छ। निर्माणपक्षले भने कथाबारे केही कुरा खुलाएको छैन।
'परान' को ट्यागलाइन 'सासले होइन, साथले चल्ने' छ। जसले फिल्मको मूल सन्देश एकअर्काको साथको महत्वलाई जोड दिएको अनुमान गर्न सकिन्छ।
देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले 'परान' को निर्माण गरेको हो। बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा फिल्म निर्माण गरिएको बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले बताए।
दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्। फिल्ममा वरिष्ठ अभिनेता नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराईली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ। निर्देशक दीपक आचार्यको शब्द, रिदम कँडेलको संगीत रहेको यस फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्।
फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाई हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्।
फिल्ममा शिवराम श्रेष्ठको डीओपी, सुनील क्षेत्रीको कोरियोग्राफी, मित्र डी. गुरूङको सम्पादन छ। ‘परान’ दसैं र तिहारलगत्तै कार्तिक १४ (अक्टोबर ३१) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।
निर्माण टिमले फूलपातीको अघिल्लो दिन फिल्ममा समावेश एक गीत सार्वजनिक गर्ने तयारी गरेको छ।