शुक्रबारबाट 'रिमै' सँग एकसाथ रिलिजमा आउने तयारीमा रहेको फिल्म 'चिठ्ठी' को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ।
रिलिजको पूर्वसन्ध्यामा निर्माण कम्पनी ईरा प्रोडक्सनले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो।
निर्धारित शोहरू समयमा प्राप्त गर्न नसकेको, कतिपय हलहरूले शो नै नदिएको र दिँदा पनि अफटाइम मात्रै दिएका कारण प्रदर्शन स्थगित गर्नुपरेको सूचनामा उल्लेख छ।
'हामी सबै कलाकार, प्राविधिक र निर्माता–निर्देशकको टिमले दिनरात खटेर चलचित्रलाई दर्शकहरूसम्म ल्याउने सपना बोकेका थियौं। तर, यथार्थपरक परिस्थितिले त्यो सपना केही समयका लागि रोकिएको मात्र हो,' सूचनामा अगाडि भनिएको छ, 'धेरै दर्शकले चिठ्ठी हेर्ने उत्साह देखाउनुभएको थियो। तपाईंहरूको त्यही माया र साथले हामीलाई अझ बलियो बनाएको छ। आगामी दिनमा नयाँ मितिसहित अझ प्रभावकारी रूपमा प्रदर्शनमा ल्याउनेछौं भन्ने दृढ विश्वास दिलाउन चाहन्छौं।'
माधवराज खरेलको लेखन तथा निर्देशन रहेको 'चिठ्ठी' मा खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान तामाङ, कञ्चन चालिसेलगायत कलाकारहरूको अभिनय छ। फिल्मको निर्माता कमला जोशी हुन्।
