दयाहाङ राई र विजय बरालको मुख्य अभिनय रहेको फिल्म 'वरिष्ठ बलराम' को फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक भएको छ।
सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको फिल्मको एकसाथ दुइटा पोस्टर र पहिलो झलक सार्वजनिक गरिएको हो।
एउटा पोस्टरमा दयाहाङ र विजय मात्रै छन्। अर्को पोस्टरमा बाँकी अन्य कलाकारहरू पनि फिचर्ड छन्। पोस्टरले फिल्मको कथा के हो भन्नेमा कौतुहलता सिर्जना गरेको छ । तर, कथा केही पनि चुहाएको छैन।
त्यस्तै, सार्वजनिक गरिएको पहिलो झलकमा भने दयाहाङ राई र विजय बराल बीचको नोक–झोकलाई प्रस्तुत गरिएको छ।
कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुने 'वरिष्ठ बलराम' मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरूङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ।
यो सुरेन्द्र पौडेलको चौथो निर्देशकीय फिल्म हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि 'आभाष', 'क्रृ' र 'बाबरी' निर्देशन गरेका छन्। निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन्। कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन्।
सामाजिक कथावस्तुमा आधारित 'वरिष्ठ बलराम' को छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो। मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। यो फिल्म काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ।
फिल्मले दर्शकलाई फरक अनुभव दिने अपेक्षा गरिएको छ।

