निर्देशक दिनेश राउतले फिल्म 'कुमारी' को छायांकन सुरू गरेका छन्। मंगलबार बिहान शुभ मुहूर्तसँगै छायांकन पनि सुरू गरिएको हो।
ललितपुरको बंगलामुखी मन्दिरमा गरिएको मुहूर्तमा फिल्मका मुख्य कलाकार, निर्देशक र निर्माण टोलीको उपस्थिति थियो।
फिल्मको छायांकन ललितपुरको पाटन क्षेत्रबाट सुरू भएको हो। अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा रहने फिल्मको सम्पूर्ण छायांकन ३५ दिनमा सक्ने लक्ष्य राखिएको छ।
अभिषेक र आकृतिबाहेक फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।
बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्।
यसअघि नै 'कुमारी' को घोषणा, पोस्टर तथा कलाकार सार्वजनिक कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड 'केहर एन्ड द लुंगा' को प्रस्तुति रहेको फिल्ममा समावेश गीत ‘कता छौ’ प्रस्तुत गरिएको थियो। गायक लिम्बुले यसै गीतबाट पार्श्व गायनमा डेब्यु गरेका हुन्।
यस्तै, निर्देशक राउत 'कुमारी' मार्फत फेरि प्रेमकथाको संसारमा फर्केका हुन्।
सुसन प्रजापतिको छायांकन निर्देशन रहने यस फिल्ममा कार्यकारी निर्मातामा केदार भुसाल छन्।