निर्देशक एकता पौडेलको पहिलो फिचर फिल्म 'हर्ष' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ।
पारिवारिक कथामा आधारित यो फिल्म मंसिर १२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ।
सोमबार बिहान सार्वजनिक गरिएका दुई पोस्टरमध्ये पहिलोमा मुख्य कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत र शर्मिला मल्ललाई हर्षित मुद्रामा देख्न सकिन्छ। यो पोस्टरमा सन्तोष पन्तलाई भने केही असन्तुष्ट भावमा छड्के हेरेको देखाइएको छ। यो पोस्टरमा खगेन्द्र र वर्षालाई उनीहरूको छोराको भूमिकामा रहेका बालकलाकार साइमन वादीसँग रमाइरहेको चित्रण गरिएको छ।
दोस्रो पोस्टरमा पनि खगेन्द्र र वर्षालाई मुस्कुराइरहेको देख्न सकिन्छ। यस पोस्टरको पृष्ठभूमिमा सन्तोष पन्तका साथमा विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरूङ र अंशु महर्जन नाचिरहेको र रमाइरहेको दृश्य छ, जुन सम्भवतः फिल्मको गीतको अंश हुन सक्छ। बाल कलाकार साइमन यस पोस्टरमा बाल कृष्णको पहिरनमा प्रस्तुत गरिएका छन्। यसैगरी, अभिनेता नीर शाह गम्भीर भावमा देखिएका छन्। दुवै पोस्टरले पारिवारिक जीवनका उतारचढाव र सम्बन्धहरूको कथा प्रस्तुत गर्ने संकेत गर्दछ।
डेब्यु निर्देशक एकता पौडेलले आफ्ना दिवंगत मामा तथा पारिवारिक सिनेमाका लागि परिचित निर्देशक शिव रेग्मीको विरासतलाई अगाडि बढाएको देखिन्छ। यसअघि उनले फिल्मको टाइटल भिडिओ पनि मामालाई स्मरण गर्दै सार्वजनिक गरेकी थिइन्। पौडेलले न्यूयोर्क फिल्म एकेडेमीबाट सिनेमा मेकिङमा अध्ययन तथा आमसञ्चारमा स्नातक गरेकी छिन्। व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्महरू पनि निर्माण गरिसकेकी छिन्।
फिल्मको सम्पूर्ण छायांकन चितवनमा गरिएको हो र हाल यो पोस्ट प्रोडक्सनको चरणमा रहेको छ। निर्देशक पौडेलले आफू र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ उत्कृष्ट रूपमा पस्किने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
'हर्ष' मा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरूङ, विशाल पहाडी, नीमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, संगीता नापित तथा बालकलाकार साइमन वादीको अभिनय रहेको छ।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्।
फिल्ममा आलोक शुक्लाको छायांकन, समीर/हिमाल, वसन्त सापकोटा र एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनील क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ।
फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल छन्।
