अभिनेता सौगात मल्लले फिल्म 'मितज्यू' साइन गरेका छन्।
अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्धित भइसकेका थिए। अब सौगातको आगमनसँगै दयाहाङ र सौगातको शक्तिशाली पुनर्मिलन हुने भएपछि फिल्मप्रति दर्शकको उत्साह झनै बढेको निर्माण पक्षको विश्वास छ।
फिल्मका लागि अन्य कलाकार पनि फाइनल गर्ने क्रम जारी रहेको निर्देशकले बताए।
फिल्मको कथा महेश राईले लेखेका हुन् भने निर्माणमा सुपरहिट फिल्म 'घरज्वाइँ' का निर्माता जनक घर्ती मगर छन्। निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरको यो दोस्रो सहकार्य हुनेछ।
जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने यो फिल्म मंसिर दोस्रो हप्तादेखि सुरू हुनेछ। पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन हुने फिल्मलाई शिशिर विशङ्खेले खिच्नेछन्।
निर्माण पक्षका अनुसार फिल्म यही वर्षको चैत २७ गतेदेखि प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।