दीपेन्द्र लामाको निर्देशनमा फिल्म 'मुनामदनको ब्रेकअप' निर्माण हुने भएको छ। फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन्।
पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको फिल्म 'गोपी' पछि फेरि सहकार्य हुन लागेको हो।
फिल्ममा हालसम्म कलाकार राज कटुवाल मात्र फाइनल भएका छन्। कटुवालले पछिल्लोपटक फिल्म 'नरसिंहा अवतार' मा अभिनय गरेका थिए।
निर्देशक लामाका अनुसार बाँकी कलाकारहरूका विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्नेछ।
उनले भने, 'फिल्मको पटकथामा सुहाउँदो भएकाले राज कटुवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने हाम्रो योजना छ।'
डेब्यु निर्देशकीय फिल्म 'घामपानी' देखि 'दुखी आत्मा' सम्म ६ वटा फिल्म निर्देशन गरिसकेका लामा 'मुनामदनको ब्रेकअप' लाई एक मनोरञ्जक फिल्मका रूपमा तयार पार्ने सोचमा छन्।
फिल्मका लेखक तिमल्सेनाले फिल्ममा ग्रामीण परिवेशको फरक स्वादको प्रेमकथा हेर्न पाइने जानकारी दिए। उनले भने, 'पछिल्लो समय नेपाली फिल्ममा हेरिँदै आएकाभन्दा भिन्न स्वभावका प्रेमकथा यसमा प्रस्तुत गरिनेछ।' पटकथामा सक्दो मिहेनत गर्ने उनले बताए।
अभिनेता कटुवालले 'मुनामदनको ब्रेकअप' लाई लिएर आफू एकदमै उत्साहित रहेको बताए।
उनले भने, 'अघिल्ला फिल्महरूमा भन्दा यसमा थप परिष्कृत देखिन मैले आफूलाई निखार्न खोज्दैछु।'
कार्यकारी निर्माता पौडेलले पटकथा र प्रि-प्रोडक्सनको काम राम्रो भएपछि मात्रै छायांकनमा निस्किनेछौं। 'हामी राम्रो प्रोडक्ट निकाल्न धैर्यका साथ काम गर्नेछौं,' उनले भने।
कास्कीको ग्रामीण भेगमा फिल्मको छायांकन गरिने पौडेलले बताए।