फिल्म 'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' को पोस्टर सार्वजनिक गरिएको छ।
निर्माण टिमले काठमाडौंसहित देशका आठवटा सहरबाट एकसाथ पोस्टर सार्वजनिक गरेको हो।
काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट आइतबार दिउँसो एकसाथ पोस्टर अनावरण गरिएको निर्माता विमल न्यौपानेले बताए।
उनले भने, 'देशभर एकसाथ फिल्मको पब्लिसिटी होस् र फिल्मलाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर देशभरका ठूला सहरमा बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौं।'
निर्माण टिमले दुइवटा पोस्टर एकसाथ सार्वजनिक गरेको छ। राकेश दहालले डिजाइन गरेको एउटा पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरूना मगर छन्। अर्को पोस्टरमा केकी अधिकारी छिन्। दुइवटै पोस्टरले फिल्मको कथा अर्थात सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाउँछ।
एउटा पोस्टरमा बीचमा विजय छन् भने छेउछउमा केकी र मिरूना छन्। केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाएका छन्। मिरूना बेहुलीको भेषमा छिन्। विजय केकीको निलो कलर मिरूनाको रातो कलरको बीचमा आधाआधा छन्।
अर्को पोस्टरमा केकी छिन्, जो धागोहरूले बाँधिएको अवस्थामा छिन्। उनको हात पहेँलो, निलो र रातो रंगको धागाले बाँधिएको छ। पोस्टरमा लेखिएको छ, ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी’। पोस्टरलाई लिएर फिल्मबारे विभिन्न अनुमान लगाउन सकिन्छ।
पोस्टरमा रहेका कलरले दोधारमा रहेका पात्रको मनोविज्ञान चित्रित गर्छ। धागोले पोस्टरलाई केही फरकपन दिएको छ।
'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' लाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन्। एसोसियट निर्देशकमा 'प्रेमगीत ३' अभिनेता मनिष राउत छन्।
फिल्ममा विजय, केकी र मिरूनासहित गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरूष भुसाल, रियर राई, भावना खपांगी मगर, रूपेश लामा, सुमन थापालागायतको अभिनय छ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।
'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' अलटाइम ब्लकबस्टर फिल्म 'पूर्णबहादुरको सारंगी' पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो फिल्म हो। यो फिल्म भदौ ६ गते रिलिज हुनेछ।