अभिनेत्री नीता ढुंगानाले फिल्म निर्देशन यात्रा सुरू गर्ने भएकी छन्।
उनले शनिबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्देशनमा डेब्यु गर्न लागेको औपचारिक घोषणा गरेकी हुन्। यसअघि 'ह्रस्व दीर्घ' मा निर्माता रहेकी उनले अब आफ्नै निर्देशनमा 'सुख-दुःख' बनाउने भएकी हुन्।
नीता फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण हुनेछ।
'सुख दुःख' नाममा यसअघि पनि फिल्म निर्माण भइसकेको छ। स्व. निर्देशक शिव रेग्मीले यो नामको फिल्म निर्देशन गरेका थिए। सोही नाम सापटी लिएर नीताले 'सुख-दुःख' बनाउने भएकी हुन्।
उनले यो फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेकी छन्। फिल्म वि.सं. २०८३ को दसैंमा रिलिज हुने घोषणा गरिएको छ। फिल्मबारे अन्य कुरा खुलाइएको छैन।
नीताले नेपालीसहित चर्चित भारतीय कलाकारहरूलाई लिएर 'ह्रस्व दीर्घ' बनाएकी थिइन्।