राम्रो अभिनय गर्ने अभिनेता हुन् सौगात मल्ल। पात्रलाई बाँचेर अभिनय गर्ने भन्दै दर्शकले उनको तारिफ गरिरहेका हुन्छन्।
उनी समय पाउँदा आफूले नयाँ पात्र निर्माण गर्न सक्ने बताउँछन्। प्रदर्शनको तयारीमा रहेको फिल्म 'जन्ते बाख्रो' मा आफूले पात्रलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएको सौगातले बताए।
उनले भने, 'एउटा फिल्ममा काम गरिसकेपछि केही समय पाइयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु। किनकि एउटामा काम गरिरहँदा लगत्तै अर्कोमा काम गर्न सहज हुँदैन। 'जन्ते बाख्रो' मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ।'
लेखकसँग छलफल गरेर क्यारेक्टरलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको सौगातले बताए। उनले लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेशले आफूलाई तयार गर्ने गरेका छन्। यद्यपि, कुनै पात्र तयार गर्दै गर्दा उनको व्यक्तिगत भोगाइ पनि त्यहाँ मिसिन्छ।
निर्देशकले देख्ने र अभिनेता सौगातले बुझ्ने पात्र मिलेपछि त्यो पर्दामार्फत दर्शकसम्म पुग्ने गरेको छ। उनलाई निर्देशकको पछिल्लो कामले पनि खासै फरक पार्दैन, किनकि हरेक नयाँ कामको छुट्टै प्रतिफल आउने उनको बुझाइ छ।
उनले भने, 'मलाई निर्देशकको पछिल्लो काम भन्दा पनि उसले म कहाँ ल्याएको विषय र त्यसको प्रस्तुतिकरणले आकर्षण गर्छ। पछिल्लो काम बिग्रिएको छ भने आउँदो काम राम्रो गर्न सक्दैन भन्ने मलाई लाग्दैन। विश्वभर आशा नगरिएकाले निर्देशक, अभिनेताले गज्जब काम गरेका छन्। र, मकहाँ प्रस्ताव आएका फिल्मबाट नै मैले छनौट गर्ने हो। कहिले काही फलानो फिल्म किन नगरेको भन्ने पनि सुन्छु। तर, मकहाँ आएका र मलाई राम्रो बन्छ भन्ने लागेका फिल्ममै मैले काम गर्ने हो।'
फिल्म 'जन्ते बाख्रो' ले ग्रामीण जीवनलाई स्मरण गराएको उनले बताए। विशेषत गाउँमा हुँदा उनले भोज भतेरमा सहभागी जनाएको स्मरण भएको सुनाए।
उनले भने, 'गाउँमा हुँदा यस्ता भोज भतेरमा काम गर्न पुगिन्थ्यो। किनकि त्यहाँ सबै गाउँले मिलेर नै विवाह लगायतका गतिविधिमा सघाउने प्रचलन छ। मसहितको एउटा साथीको टिमले यस्ता विवाहमा धेरै पटक भोज तयार गरेका छौं। यो प्रक्रियामा गाउँमा रहेका सबै सहभागी हुनुभएको छ।'
फिल्मले परम्पराका विषयमा जानकारी दिँदै मनोरञ्जन दिने उनले बताए। उनको बुझाइमा 'जन्ते बाख्रो' दुई प्रकारको हुन्छ। एउटा बेहुली लिएर फर्किएको बेहुलासहितको जन्तीलाई बेहुली पक्षले बाटोमा खान दिएको हुन्छ भने अर्को बेहुली भित्र्याएपछि हुने भतेर (भोज) मा खाइन्छ। फिल्मको कथालाई यसै प्रसंगसँग जोडेर तयार गरिएको सौगातले बताए।
उनले भने, 'हाम्रो परम्परा र संस्कृतिले एकआपसमा जोड्ने र सामीप्यता बढाउने गरेको पाइन्छ। पछिल्लो समय ‘जन्ते बाख्रो’ खुवाउने प्रचलन ‘पार्टी प्यालेस’ ले बदलेको छ। त्यहीकारण फिल्मले हाम्रो परम्परा र संस्कृतिलाई प्रस्तुत गरेको छ, जहाँ रमाइलो र आत्मियता पाइन्छ।'
'जन्ते बाख्रो' मा सौगातसँगै आसिफ शाह र गरिमा शर्माको शीर्ष अभिनय छ। साथमा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रूषा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको पनि अभिनय छ।
मुईन इन्टरटेनमेन्टद्वारा निर्मित फिल्मको निर्मातामा सन्तोष गौतम छन् भने फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्।
फिल्म यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।