सुपरहिट फिल्म 'जारी' को सिक्वेल निर्माण घोषणा गरिएको छ।
नयाँ वर्ष २०८२ को अवसर पारेर सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै 'जारी २' निर्माण घोषणा गरिएको हो।
निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ। फिल्मको स्लोगन सङ अफ च्याब्रुङ राखिएको छ। च्याब्रुङ नेपालको पूर्वी पहाडमा बसोबास गर्ने लिम्बू समुदायका मानिसहरूको परम्परागत लोक बाजा हो ।
'जारी २' २०८० सालको ब्लकबस्टर फिल्म 'जारी' का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन गर्दैछन्। फिल्म वर्षको दसैंमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ।
कवी उपेन्द्र सुब्बाको डेब्यु निर्देशन तथा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरूना मगरको मुख्य भूमिका रहेको जारीले नेपाली बक्सअफिसमा १७ करोडमाथिको व्यापार गरेको थियो।
'जारी २' वैशाख तेस्रो साताबाट फ्लोरमा जाने जनाइएको छ। फिल्ममा दयाहाङ, विजय र मिरूनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरूङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मलाई रामबाबु गुरूङले निर्माण गर्नेछन्। फिल्मको सम्पूर्ण छायांकन पाँचथरको विभिन्न पर्यटकीय गन्तव्यमा गरिनेछ।