शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'वसन्त' मार्फत यसका निर्देशक प्रकाश सपुतले दर्शकलाई केही 'सरप्राइज' दिएका छन्।
यो फिल्ममा अभिनेता राजेश हमालको अभिनय छ। अभिनेताहरू दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन पनि छन्। त्यस्तै, अभिनेत्रीहरू करिश्मा मानन्धर, प्रियंका कार्की, केकी अधिकारी, सुरक्षा पन्त समेतले यसमा अभिनय गरेका छन्।
लोकदोहोरीकी अहिलेकी चर्चित गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी समेत फिल्ममा देखिन्छन्। यी सबै कलाकारहरू फिल्ममा केमियो भूमिकामा छन्।
यी कलाकारहरूको अभिनय रहेको कुरा प्रकाशले फिल्म रिलिज हुँदासम्म लुकाएका थिए। हलमा गएका दर्शक एउटै फिल्ममा यति धेरै कलाकारहरू हेर्न पाउँदा सरप्राइज मात्रै होइन नोस्टाल्जिक पनि हुन्छन्।
फिल्म रिलिजपछि यी कलाकारहरूको दृश्यको भिडिओ 'क्लिप' खिचेर दर्शकहरू टिकटकमा राखिरहेका छन् भने ति क्लिपहरू भाइरल पनि भइरहेका छन्।
कतिपयले यति धेरै कलाकारहरू रहे पनि प्रकाशले किन रिलिजअघि खुलाउन चाहेनन् भन्ने चासो समेत राखिरहेका छन्।
प्रदर्शनअघि यी कलाकारहरूबारे जानकारी दिएको भए यसले फिल्मको व्यवसायमा फाइदा पुर्याउन सक्थ्यो पनि भनिरहेका छन्।
यसबारे कुरा गर्दै प्रकाश सपुतले आफूले दर्शकहरूलाई झुक्याउन नचाहेको बताएका छन्।
हल भिजिटमा पुगेको समयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'मैले दर्शकहरूलाई झुक्याउन नचाहेको हो। पोस्टरमा, प्रमोसनमा उहाँहरूको नाम राखेर, फोटो राखेर प्रचारप्रसार गर्ने तर फिल्ममा छोटो भूमिकामा देख्दा दर्शकहरूमा एक खालको निराशा वा अविश्वास पैदा हुने भएकाले मैले आफ्नो इमान्दारिताका लागि उहाँहरूलाई प्रमोसनमा प्रयोग नगरेको हो।'
फिल्म 'वसन्त' मा शीर्ष भूमिकामा भने प्रकाश र स्वस्तिमा खड्का छन्। साथमा खड्गबहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय छ।
मोहन विश्वकर्मा र बिन्दु बोहोरा फिल्मको निर्माता हुन्। कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्। अभिनेताका रूपमा प्रकाशका यसअघि दुई फिल्म 'परदेशी २' र 'पूर्ण बहादुरको सारंगी' प्रदर्शनमा आएर सुपरहिट भइसकेका छन्।
निर्देशकका रूपमा भने 'वसन्त' प्रकाशको पहिलो फिल्म हो।