फिल्म 'जन्ते बाख्रो' को प्रदर्शन मिति घोषणा गरिएको छ। यसको निर्माण पक्षले बिहीबार फिल्मको फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
फिल्म आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउनेछ। यो मितिमा अहिलेसम्म अन्य कुनै पनि फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन्।
फिल्म 'जन्ते बाख्रो' मा अभिनेता सौगात मल्ल, आसिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका छ। सार्वजनिक फर्स्टलुकमा पनि शीर्ष तीन कलाकारहरूलाई देखाइएको छ।
हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आसिफ र गरिमालाई संगै देखाइएको छ भने सौगातले निराश भावमा उनीहरुलाई हेरिरहेका छन्। बीचमा चस्मा लगाएको बाख्रोलाई पनि देखाइएको छ।
निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रूपमा चित्रण गर्न खोजेको बुझिन्छ। सिनेमाको कथावस्तु पनि यसकै वरिपरि घुमेको जनाइएको छ।
सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा सौगात, आसिफ र गरिमासहित रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रूशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायत कलाकारहरूको अभिनय छ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो। प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन्।
फिल्ममा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी र सुनिल शिवभक्तिको सम्पादन छ। फिल्मको पोस्टर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) ले तयार पारेको हो।