गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा बनेको पहिलो फिल्म 'वसन्त' ट्रेलर सार्वजनिक गरिएको छ।
शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा पात्रको चरित्र चित्रण र कथावस्तुबारे संक्षिप्त जानकारी दिइएको छ।
फिल्मको ट्रेलर रिलिजको केही घण्टामै युट्युब ट्रेन्डिङमा समेत परेको छ।
२०६२/०६३ सालको पृष्ठभूमिमा यो फिल्मको कथा अगाडि बढाइएको छ। फिल्ममा जातीय विभेदको कथा देखाइएको छ।
किताब लेख्ने सपना देखेको दलित युवकको संघर्ष ट्रेलरमा देख्न सकिन्छ। स्कुले जीवनको अन्तरजातीय प्रेम, मानवीय मर्मदेखि समाजका बहुआयामिक पाटोलाई देखाउन खोजिएको छ।
प्रकाश सपुतले 'वसन्त' लाई वर्ण व्यवस्थाले सदियौंदेखि न्याकिएको एउटा तप्काको कथा भनेका छन्।
ट्रेलर सार्वजनिक गर्दै प्रकाशले भने, 'वसन्तको माध्यमबाट हामीले शान्ती, सपना, प्रेम र सत्य खोज्ने प्रयास गरेका छौं। पात्रको नाम पनि त्यही अनुसार राखिएको छ।'
प्रचार सामाग्री हेर्दा जातको मात्रै विषय हो कि जस्तो लागे पनि चार/पाँच वटा पात्रहरूको माध्यमबाट समाजको विभिन्न पाटो देखाउन खोजिएको प्रकाशले बताए।
'लैंगिक विभेद, गरिबी, विकटताले हाम्रो जीवनमा पार्ने प्रभावहरू, वैदेशिक रोजगारका कुराहरू, माया–प्रेमका कुराहरू, एउटै समाजमा पनि नदेखिने गरी हुने विभिन्न ग्यापहरूलाई यसमा देखाउने कोशिस गरेका छौं,' उनले भने।
अभिनेत्री स्वस्तिमा खड्काले 'वसन्त' आफूले गरिरहेको फिल्मभन्दा अलि फरक रहेकाले थप उत्साहित रहेको धारणा राखिन्। उनले यो फिल्ममार्फत प्रकाशले नेतृत्व र समाजलाई प्रश्न गरेको बताइन्।
फिल्मको कथा, लेखन र संगीत पनि प्रकाशकै हो। फिल्ममा प्रकाश र स्वस्तिमासहित खड्गबहादुर पुन, प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरूङ, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय छ।
गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्मको निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्। 'वसन्त' चैत २२ गतेदेखि प्रदर्शन तयारीमा छ।
'वसन्त–साँझ' मा झुमे दर्शक
सामाखुसीस्थित सिटी स्क्वायर मलमा ट्रेलर रिलिजसँगै त्यहाँ सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो।
हल बाहिर आयोजित 'वसन्त-साँझ' मा दर्शकको बाक्लो उपस्थिति रह्यो। त्यहाँ प्रकाशसहित गायिका शान्तिश्री परियार, प्रीति आले, गायक देबेन्द्र बब्लु लगायतले प्रस्तुति दिए। 'गलबन्दी', 'अरेली काँडैले' लगायतका हिट गीत प्रस्तुतिमा दर्शक मज्जाले झुमे।

