पूर्वमिस नेपाल समेत रहेकी अभिनेत्री निकिता चाण्डकले प्रसिद्ध भारतीय फिल्म निर्देशक संजयलीला भन्सालीको फिल्ममा काम गर्ने भएकी छन्।
निकिताले आफ्नो इन्स्टाग्राममा भन्सालीसँगको तस्वीर सेयर गर्दै यसबारे जानकारी दिएकी हुन्।
उनले कुन फिल्म भन्नेबारे विस्तृतमा खुलाएकी छैनन्। भन्सालीको सिनेम्याटिक विश्वको सानो हिस्सा बन्न पाउँदा गर्व महसुस भएको निकिताले उल्लेख गरेकी छन्।
उनले लेखेकी छन् 'भारतमा मेरो पहिलो परियोजना यो भन्दा राम्रो अरू हुन सक्दैनथ्यो।'
निकिताको यो पोस्टमा थुप्रै अभिनेता तथा अभिनेत्रीहरूले बधाईं दिइरहेका छन्।
निकिताले विराज भट्टको फिल्म 'साङ्लो' बाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी थिइन्। यतिबेला उनी अभिनीत फिल्म 'राजागंज' हलमा प्रदर्शन भइरहेको छ।
दीपक रौनियार निर्देशित यो फिल्ममा निकिता प्रहरी इन्स्पेक्टरको भूमिकामा छिन्।