यही चैत १५ गते रिलिज हुने तयारीमा रहेको फिल्म 'डोरी' को ट्रेलर सार्वजनिक गरिएको छ।
आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच ट्रेलर सार्वजनिक गरिएको हो।
फिल्मका प्रायः सबै कलाकारहरूलाई प्रस्तुत गरिएको ट्रेलर शीर्षक वरपर घुमेको छ। यसमा डोरीलाई शक्ति रहेको स्थितिमा सबैले खोजी गरिरहेको देखाइएको छ। सोही क्रममा आइपर्ने घटनाक्रम नै फिल्मको कथा हो।
पारिवारिक तथा सामाजिक समस्याहरू समेत ट्रेलरमा देखिन्छ।
ट्रेलरमा केही थ्रिल तथा हरर दृश्यहरू समेटिएका छन्। ट्रेलर रिलिज कार्यक्रममा बोल्दै लेखक, निर्देशक तथा कलाकार अरूण लामाले भने, 'यो कथा पूर्णतया सामाजिक हो। र, कहीँ न कहीँ सबैको जीवनसँग मेल खान्छ।'
उनले फिल्ममा थ्रिल र हररलाई 'दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाएको जस्तो' तरिकाले राखिएको बताए।
फिल्ममा निर्देशकसमेत रहेका अरूणसँगै प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, विरेन्द्र सिंह कुशवाहा लगायत कलाकारहरूको अभिनय छ।
फिल्मको निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्मातामा राज थापा छन्।