अभिनेता विपिन कार्की आगामी फिल्म 'कर्मा' मा एक्सन अवतारमा देखिँदैछन्।
युट्युबमा सार्वजनिक फिल्मको टिजरमा उनको एक्सन दृश्यहरू देख्न सकिन्छ। कानबाट रगत बगिरहेको दृश्यसँगै टिजर सुरू हुन्छ। त्यसपछि आफू बलियो बन्न विपिनले व्यायाम गर्नतर्फ लाग्छन्। उनको संवाद छ, –जे जान्छ, त्यो घुमेर आउँछ।
अगाडि अर्को संवाद छ, 'कर्माको खेले हो यो सबै।'
यसपछि विपिन एक्सनमा उत्रिन्छन्। विपिनको एक्सनसँगै बाइक स्टन्टले दर्शकको ध्यान खिच्छ। टिजरमा विपिनको एक्सनसँगै उनको भावनात्मक पक्ष पनि देखाइएको छ। उनी परिवारकै लागि एक्सनमा उत्रिएको संकेत टिजरमा छ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार 'कर्मा' मा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेतलगायतको अभिनय छ। विपिन र उपासनाको यो पहिलो सहकार्य हो।
फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको निर्माता बसन्त लम्साल हुन्।
एक्सन जनरामा निर्माण 'कर्मा' नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।