पछिल्लो समय नेपाली फिल्मकर्मीहरू सेन्सर बोर्डप्रति असन्तुष्ट छन्।
प्रहरीको पोशाकदेखि ‘प्रधानमन्त्री’ शब्द समेत फिल्ममा प्रयोग गर्न नपाउने भएपछि उनीहरूको असन्तुष्टि बढेको हो।
हालै सेन्सरसिपको चपेटामा दीपक रौनियार निर्देशित फिल्म 'राजागंज' परेको छ। फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा गरेको भाषणको अंश समावेश थियो । सेन्सर बोर्डले उक्त भिडिओ र विभिन्न शब्दहरूमाथि अंकुश लगाएपछि फिल्मकर्मी आक्रोशित बनेका हुन् ।
यसै विषयमा शुक्रबार मण्डला थियटरमा सेन्सरसिपविरुद्ध पत्रकार सम्मेलन राखिएको थियो। फिल्मका निर्देशक दीपक रौनियार, निर्देशकहरु नवीन सुब्बा, विनोद पौडेल, मनोज पण्डित, उपेन्द्र सुब्बा, अशोक शर्मा, गणेशदेव पाण्डे, दीपेन्द्र लामा, निर्माता तथा कलाकार दीपकराज गिरी, कलाकार दयाहाङ राई लगायत पत्रकार सम्मेलनमा उपस्थित थिए।
कार्यक्रममा उनीहरूले सेन्सर बोर्ड खारेज गर्नुपर्ने माग राखे।
'राजागंज'का निर्देशकले सेन्सर बोर्डका अध्यक्षले स्क्रिप्ट पढेकै आधारमा आफूलाई साम्प्रदायिकता फैलाउने आरोप लगाएको बताए ।
'धेरै दिनसम्म फिल्म नै हेरिदिएनन्। स्क्रिप्टको आधारमा सेन्सर बोर्डका अध्यक्षले साम्प्रादायिकता फैलाउने काम गर्नुभयो भन्नुभयो । १० वर्ष अगाडिको भाषणले अहिले साम्प्रदायिककता फैलाउँछ भन्नुभयो,' उनले भने।
निर्देशक नविन सुब्बाले रचनाकर्मीलाई रचना गर्न दिनुपर्ने बताए।
'थियटर पत्रिकामा सेन्सर हुन्न। कहीं पनि हुन्न। फिल्ममा मात्र हुन्छ। राजागंज विभिन्न देशमा चल्छ। त्यहाँ केहि भनिँदैन। तर यहाँ भारत शब्द समेत प्रयोग गर्न पाइँदैन। हाम्रो देशमा लोकतन्त्रको नाममा किन सेन्सरमा परिरहेका छौं। हाम्रो फिल्म सेन्सर हुन्छ भन्नु एकदम लाजमर्दो हुन्छ,' उनले भने।
अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि सेन्सर बोर्डले आफूहरूलाई पनि बारम्बार दु:ख दिएको बताए।
'यसको समाधान संगठित रूपमा फिल्मकर्मीहरू लागेर गर्नुपर्छ,' उनले भने।
त्यस्तै, अभिनेता दयाहाङ राई, निर्देशक गणेशदेव पाण्डे, मनोज पण्डित, दीपेन्द्र लामा, उपेन्द्र सुब्बा, प्रोडक्सन म्यानेजर शंकर पाण्डे, अभिनेत्री रिमा विश्वकर्मा लगायतले सेन्सर बोर्ड विरुद्धको मुद्दालाई टुंगो लगाउनुपर्ने मत राखे।