सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनीत फिल्म 'भाइरल गोर्खे' को फर्स्टलुक सार्वजनिक गरिएको छ।
शुक्रबार भ्यालेन्टाइन्स डेको अवसरमा पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। फिल्म आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउनेछ।
सार्वजनिक एक पोस्टरमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्तामा प्रस्तुत गरिएको छ। अर्को पोस्टरमा भने उनको सामाजिक सञ्जालमा लाइभ अनि अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिएका छन्। यसले फिल्मले पछिल्लो समय नेपालमा विकृतीको रूपमा मौलाउदै गरेको भाइरल प्रवृतिलाई व्यंङ्ग्य गरेको बुझ्न सकिन्छ।
फिल्मबारे निर्देशन निगम श्रेष्ठले भने, 'नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ। यसमै हाम्रो यो सिनेमा केन्द्रित रहनेछ। भाइरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमामा देखाइने छ।'
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ। विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको फिल्ममा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन्।
फिल्म अमर महर्जनले खिचेका हुन्।

