महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म 'अञ्जिला' को टिजर सार्वजनिक गरिएको छ।
मंगलबार सार्वजनिक टिजरमा एञ्जिला घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तान बन्दासम्मको कथा छ।
टिजरको सुरूमै भनिएको छ– यो हो एउटा संघर्षशील सपना देख्नेहरूको कथा।
त्यसपछि रेडियोमा बजाइएको आवाजमार्फत 'अन्तर्राष्ट्रिय रूपमा पनि देशलाई प्रतिनिधित्व गर्ने निष्कलंक एउटा विधा छ भने त्यो खेल नै हो' भन्ने भाष्यलाई स्थापित गर्दै टिजर अघि बढाइएको छ।
फिल्ममा एञ्जिला आफैं प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। बुवा फुटबलको विपक्षमा र आमा पक्षमा देखिएका छन्।
एञ्जिलाको खेलाडी बन्ने सपना पछाडिको संघर्षलाई फिल्ममा देखाइएको टिजरबाट बुझ्न सकिन्छ।
निर्देशक मिलन चाम्सले 'अञ्जिला' एञ्जिलाको विगतका छायाबाट, भविष्यका लागि गरेको संघर्षसम्मको वास्तविक कथामा आधारित फिल्म रहेको बताए। इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश फिल्मले दिन खोजेको चाम्सले जिकिर गरे।
फिल्ममा एञ्जिला आफैं मुख्य भूमिकामा छिन् भने सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरूङ, बुद्धि तामाङले पनि अभिनय गरेका छन्। निर्माता प्रेम कुमार श्रेष्ठले पनि फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका छन्।
यस फिल्मको वल्र्ड प्रिमियर गत मङ्सिरमा हङकङमा भएको थियो भने हाल युकेमा प्रिमियरको आयोजनाको लागि निर्देशक चाम्स र निर्माता श्रेष्ठ लन्डन पुगेका छन्। यो फिल्म नेपाल रिलिजअगावै युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुँदैछ।
फिल्मको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्मको छायांकन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठको छ।
फिल्म नेपालमा फागुन २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।