हाल प्रदर्शनरत फिल्म 'एक्टर: टेक वन' बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री दिव्या रायमाझीले नयाँ फिल्म साइन गरेकी छन्।
उनले फिल्म ‘माया प्रीति’ साइन गरेकी हुन्। यस फिल्ममा उनको मुख्य भूमिका रहनेछ। निर्माणधीन यस फिल्मका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन्।
रोमान्टिक कमेडी फिल्मलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन्। श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ। श्रेष्ठले यस फिल्ममार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन्।
फिल्ममा अनुबन्ध भएपछि रायमाझीले आफू नेपाली फिल्मको संस्कारमा हुर्किएकी भएकाले राम्रो स्क्रिप्ट छनोट गर्न सजिलो भएको बताइन्। ‘माया प्रीति’ को कथा आफूले खोजे जस्तै भएको उनको भनाइ छ। तर उनले आफ्नो भूमिकाबारे भने खुलासा गर्न चाहिनन्।
दिव्याले आफ्नो पहिलो फिल्म 'एक्टर: टेक वन' मा नै उत्कृष्ट अभिनय गरेकाले उनलाई ‘माया प्रीति’ को लागि अफर गरिएको कार्यकारी निर्माता कार्कीले बताए। उनले रायमाझीको लागि यस फिल्मको चरित्र उपयुक्त रहेको र स्क्रिप्टले उनलाई न्याय गर्ने भएकाले अनुबन्ध गरिएको बताए।
वन टू थ्री स्टुडियोज प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्ममा चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहनेछिन्। यो फिल्मको निर्माण समूह नेपाल टेलिभिजनको चर्चित शो 'प्ले इट अन' मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी समूह हो। क्रिएटिभ निर्देशक प्रणव जोशी यसअघि २०७२ सालमा रिलिज भएको सुपरहिट फिल्म 'रेशम फिलिली' का निर्देशक हुन्। साथै उनी एक कुशल एआई कलाकार पनि हुन्।
यस फिल्मको छायांकन चाँडै सुरू हुने तयारीमा छ भने अन्य कलाकारहरूको घोषणा क्रमशः गरिने बताइएको छ। फिल्मको कलाकार म्यानेजमेन्ट लिभेन्ट्स् स्टुडियोले गर्नेछ।