आगामी चैत्र ७ देखि ११ गतेसम्म काठमाडौंमा आयोजना हुने आठौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को निर्णायक मण्डलमा नेपालबाट रहने दुई सदस्य छनोट गरिएको छ।
छोटा फिल्म तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र फिचर फिल्मतर्फ अभिनेत्री सुरक्षा पन्त निर्णायक समितिमा सदस्य रहने तय भएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ। महोत्सवमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूबीच छलफल तथा कार्यशालाहरू सञ्चालन हुनेछन्।
महोत्सवमा ४० देशका ८७ वटा फिल्म छानिएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका जनाएको छ। महोत्सवमा देखाइने फिल्महरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन्। प्रविधिमा आएको विकासलाई आत्मासात गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सो सम्बन्धी विषयमा बनेको फिल्मको प्रतिस्पर्धा पनि हुनेछ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ। सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ।
एआई फिल्मलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ। नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०/५० हजार नगद र ट्रफी प्रदान गरिनेछ।