चर्चित प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीले आफ्नो डेब्यू निर्देशन फिल्म 'मनको बाँध' घोषणा गरेका छन्।
सोमबार उनले फिल्मको शीर्षक पोस्टर सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन्। 'मनको बाँध' लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दैछन्। अहिलेसम्म कलाकार तथा प्राविधिकहरूको नाम खुलाइएको छैन।
नेपाल चलचित्र प्राविधिक संघका महासचिव समेत रहेका युवराज कार्की नेपाली फिल्म क्षेत्रमा एक अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन्। उनले 'जात्रा', 'शत्रु गते', 'दाल भात तरकारी' र 'द सिक्रेट अफ राधा' जस्ता फिल्ममा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका थिए। त्यसैगरी उनी दुई वर्षअगाडि रिलिज भएको फिल्म 'के घर के डेरा' मा कार्यकारी निर्माताको भूमिकामा थिए। जसको सिक्वेल हाल पोस्ट-प्रोडक्सनमा रहेको छ।
'मनको बाँध' ग्रामीण जीवनका संघर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाका विषयमा आधारित छ। यसले महिलाको साहस र धैर्यताको कथालाई प्रभावशाली रूपमा चित्रण गर्ने निर्देशक कार्कीले बताए।
'मनको बाँध' नामले नेपाली फिल्म इतिहासमा पनि ठुलो महत्त्व राख्छ। २०२८ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानले यसै नामको फिल्म निर्माण गरी २०३० सालमा रिलिज गरेको थियो। प्रकाश थापाको निर्देशनमा बनेको फिल्ममा सल्यान केसी र सुष्मा शाही मुख्य भूमिकामा थिए।