आगामी चैत १५ गतेदेखि रिलिज हुने फिल्म 'डोरी' को पहिलो गीत 'चुच्चे ढुंगो उही टुंगो' सार्वजनिक गरिएको छ।
राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको गीत राजनराज सिवाकोटीले नै लेखेका र संगीतबद्ध गरेका हुन्। गीतमा आर्यन सिग्देल र अञ्जना बराइलीको नृत्य देख्न सकिन्छ।
संगीत संयोजन राजन ईशानले गरेका छन् भने सहायक स्वर सुनी थापाले दिएकी छन्। यसको छायांकन निर्देशक सौरभ लामा हुन् भने नृत्य निर्देशन कविराज गहतराजले गरेका छन्।
गायक, गीतकार तथा संगीतकार राजनराज सिवाकोटी नेपाली समाजमा प्रचलित ठेट शब्दहरूलाई गीतमा लयबद्ध गर्न माहिर मानिन्छन्। यस गीतमा पनि उनले उसिनेको आलु, नुन खुर्सानी, गुन्द्रुक, ढिँडो, घट्ट, मुरी अन्न, डोको जस्ता ठेट नेपाली शब्दहरूको प्रयोग गरेका छन्, जसले गीतलाई नेपाली मौलिकताको झल्को दिएको छ।
‘डोरी’ को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन्। फिल्ममा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहालगायत कलाकारको अभिनय छ। यसअघि आर्यन र अञ्जना सुपर हिट फिल्म ‘पुजार सार्की’ मा सँगै अभिनय गरेका थिए।
फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन्। फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, संगीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ, रंग संयोजक रेनीश फागो रहेका छन्।