प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी अभिनीत फिल्म 'एक्टरः टेक वान' को बुधबारबाट हुने भनिएको प्रदर्शन रोकिएको छ।
काठमाडौं जिल्ला अदालतले तत्कालका लागि प्रदर्शन रोक्न आदेश दिएसँगै फिल्म आज रिलिज नभएको हो।
माघ ४ मा रिलिज फिल्म 'एक्टर' को निर्माण पक्षले नामको विषयलाई लिएर 'एक्टरः टेक वान' विरूद्ध अदालतमा रिट दायर गरेको थियो। सोही रिटमा अदालतले मंगलबार तत्कालका लागि प्रदर्शन रोक्न आदेश जारी गरेसँगै फिल्मको प्रदर्शन तत्कालका लागि रोकिएको हो।
अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
सोमबार प्रिमियर गरिएको फिल्मको हलहरूले बुकिङ खुलाउँदै अग्रिम टिकट बिक्री समेत गरिसकेका थिए। प्रदर्शन रोकिएसँगै अब हलहरूले टिकट बुकिङ गरेका दर्शकको रकम फिर्ता गर्नुपर्ने भएको छ।
मल्टिप्लेक्स चेन क्युएफएक्सले टिकटको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै सूचना जारी गरेको छ।
सूचनामा भनिएको छ, 'जिल्ला अदालतद्वारा जारी गरिएको अन्तरिम आदेशका कारण फिल्म 'एक्टरः टेक वान' को प्रदर्शन आगामी सूचना प्राप्त नभएसम्म स्थगित गरिएको छ। खरिद गरिएको टिकटको रकम फिर्ता गरिनेछ। असुविधाका लागि हामी क्षमाप्रार्थि छौं।'
रकम फिर्ता गर्ने बताए पनि कसरी फिर्ता गर्ने त्यो भने सूचनामा उल्लेख गरिएको छैन।
यसअघि 'पुष्पा २' रिलिजको समयमा फिल्मको थ्रिडी टिकट बेचेका हलहरूले थ्रिडी फाइल भारतबाट नआएपछि अतिरिक्त रकम दर्शकलाई फिर्ता गर्नुपरेको थियो। त्यसबेला हलले दर्शकलाई बक्सअफिसको काउन्टरमा आएर रकम फिर्ता लिन भनेका थिए।