बुधबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'एक्टरः टेक वान' को प्रदर्शन तत्कालका लागि रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरकालिन आदेश दिएको छ।
मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो।
माघ ४ गतेदेखि प्रदर्शनमा आएको फिल्म 'एक्टर' का निर्माताले 'एक्टरः टेक वान' विरुद्ध नामको विषयलाई लिएर जिल्ला अदालतमा रिट दायर गरेका थिए। दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्ति दिलाउन माग गरिएको थियो ।
सोही रिटमा अदालतले फिल्मको प्रदर्शन रोक्न आदेश दिएको हो। त्यस्तै, अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ।
अदालतको आदेशमा भनिएको छ, 'निवेदकको चलचित्र एक्टर प्रदर्शन भइरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले 'एक्टरः टेक वान' लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीको नाममा अल्पकालिन आदेश जारी गरिदिएको छ। आदेशको जानकारी विपक्षीलाई दिनू।'
'एक्टर: टेक वान' को प्रिमियर समेत भइसकेको थियो।