दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म 'महाभोज' को छायांकन पोखराबाट सुरू गरिएको छ।
काठमाडौंमा गतसाता शुभमुहूर्त गरिएको फिल्मको छायांकन एक सातापछि पोखराबाट प्रारम्भ गरिएको हो।
४५ दिनको तालिकासहित मंगलबारदेखि पोखराको घाचोकमा यसको छायांकन सुरू भएको छ।
फिल्मको पहिलो दृश्य अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिए।
निर्देशक दिनेश राउतको यो आठौं फिल्म हो। फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायत कलाकारहरूको अभिनय रहनेछ।
'महाभोज' को निर्माता हिमाल कडरिया हुन्।
फिल्ममा सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही स्वर पाइने जनाइएको छ। निर्देशक राउतले समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको कथामा फिल्म बनाइरहेको बताए।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माण रहने फिल्मको कार्यकारी निर्माताहरू किरण नेपाली र सुदीप ढकाल हुन्। फिल्म विकास सुवेदीले लेखेका हुन् भने राजेश श्रेष्ठले छायांकन गर्दैछन्।