माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'सारंग' मा समावेश गीत सार्वजनिक गरिएको छ।
'तिमी नै हौ' बोलको सो गीतमा बालकलाकार आदित्य कार्की र सम्राट थापाबीचको प्रेम, साथ, समर्पण र आत्मीयता प्रस्तुत गरिएको छ।
देवेन्द्र बरालको स्वरमा रहेको गीतको शब्द सुमन सिंगलले रचेका हुन भने संगीत शंकर थापा स्माइलको छ। गीतको कोरियोग्राफी सुष्मा राईले गरेकी हुन्।
प्रशान्त तामाङको लेखन, निर्माण र निर्देशनमा बनेको 'सारंग' मा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट र आदित्य मुख्य भूमिकामा छन्।
बाल मनोविज्ञान, बालअधिकार, धनी–गरिब परिवारबीचको खाड्लको फिल्ममा प्रस्तुत गरिएको जनाइएको छ। फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन्। पुष्पा लिम्बू र बिनु गुरूङ सह–निर्माता रहेको फिल्म गोपाल रायले खिचेका हुन्।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि. गुरुङले गरेका हुन् ।
फिल्मलाई देशभर स्टेशन फाइभले वितरण गर्नेछ।