फिल्म 'कार्साङ' ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको वितरकले जानकारी दिएका छन्।
पुस २६ गते रिलिज फिल्मले बुधबारसम्म उक्त कमाइ गरेको वितरक कम्पनी आरआर फिल्मस्ले जनाएको छ।
फिल्ममा सुरूका दिनमा दर्शक कम देखिए पनि बिस्तारै दर्शक संख्या बढ्दै गएको आरआर फिल्मस्का रोहित कट्टेलले बताए।
'माघ १ गतेदेखि दर्शक बढेका छन्। बुधबार पनि दर्शकको उपस्थिति राम्रो थियो,' उनले भने।
'कार्साङ' दयाहाङको ६ महिनापछि रिलिज फिल्म हो। यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङसहित सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डित लगायत कलाकारहरूको अभिनय छ।
यार्सा फिल्म्स र पुरूषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको फिल्मको निर्माता छायानंकारसमेत रहेका पुरूषोत्तम प्रधान हुन्।
सह–निर्मातामा गोविन्द बोहरा छन् भने कार्यकारी निर्माताका रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।