यसअघि राजनीति र समाजको कथावस्तुमा 'ऐंचोपैंचो' निर्देशन गरेकी कृषा चौलागाईंले अहिले एक्सन फिल्म बनाएकी छिन्।
उनी निर्देशित मल्टिस्टारर फिल्म 'पिताम्बर' नयाँ वर्षको अवसर पारेर चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ। यो फिल्मको सोमबारमात्रै टिजर सार्वजनिक गरियो, जसले यतिबेला राम्रो भ्युज पाइरहेको छ।
रिलिजको २४ घण्टामै १० लाखभन्दा धेरैपटक हेरिएको टिजरको भ्युज बुधबार दिउँसोसम्म १५ लाखभन्दा बढी पुगेको छ।
टिजरलाई लिएर आएका प्रतिक्रिया पनि सकारात्मक छन्। टिजरले राम्रो प्रतिक्रिया पाएपछि निर्देशक चौलागाईंले खुसी व्यक्त गरिन्।
उनले भनिन् 'टिजरले छोटो समयमै यो भ्युज पाउनु र प्रतिक्रिया पनि राम्रो आउनुले उत्साहित छौं। टिजर आइसकेपछि फिल्मलाई लिएर धेरैको अपेक्षा बढेकोले चुनौती पनि बढेको महसुस भएको छ।'
उनले फिल्मको ट्रेलर यो भन्दा राम्रो आउने बताउँदै फिल्म साँच्चिकै राम्रो बनाएकाले दर्शकले रूचाउने विश्वास व्यक्त गरिन्।
सार्वजनिक टिजर एक्सनप्रधान छ। विशेषगरी अभिनेता प्रदीप खड्का र सौगात मल्लको एक्सन दृश्यलाई प्राथमिकता दिइएको छ।
फिल्ममा प्रदीप र सौगातसहित दयाहाङ राई, आर्यन सिग्देल, अनुपविक्रम शाही, दिव्या रायमाझी, सुरक्षा पन्त, सुपुष्पा भट्ट, गौरी मल्ल, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्यदेव पन्त लगायतको अभिनय छ।
केपी फिल्मस् र पुरूषोत्तम प्रधान फिल्मस्को प्रस्तुति रहेको 'पिताम्बर' का निर्माता विशाल चौलागाईं हुन्। पुरूषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता छन् भने सुमन गौतम कार्यकारी निर्माता छन्। यसको पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका हुन्।
पुरूषोत्तम प्रधानको डिओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, हिमाल केसीको द्वन्द्व रहेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गर्नेछन्। वितरण आरआर फिल्मस्ले गर्नेछ।