मल्टिस्टारर एक्सन फिल्म 'पिताम्बर' को टिजर सार्वजनिक गरिएको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक टिजरले फिल्मको कथावस्तु र कलाकारहरूको चरित्र चित्रण देखाउन खोजेको छ।
टिजरमा विशेषगरी शीर्ष कलाकार प्रदीप खड्का र सौगात मल्लको एक्सनलाई विशेष स्थान दिइएको छ।
फिल्मका अधिकांश शीर्ष कलाकारहरूलाई टिजरमा देखाइएको छ।
कृषा चौलागाईं निर्देशित यो फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुपविक्रम शाही, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, प्रमोद अग्रहरि, आर्यन सिग्देल, गौरी मल्ल, रविन्द्र झालगायत कलाकारहरूको अभिनय छ।
टिजर रिलिज कार्यक्रममा बोल्दै निर्देशक चौलागाईंले हरेक कथा अनुसार नयाँ फिल्म बन्ने भएकाले 'पिताम्बर' पनि नयाँ कथा रहेको बताइन्।
उनले आफ्नो टिमले ठूलो क्यानभासमा राम्रो फिल्म बनाएको भन्दै त्यो कुरा ट्रेलरमा देखिने बताइन्।
अभिनेता प्रदीप खड्काले एक्सनले सबै कुरा बोल्नै भन्दै टिजरमा सबै कुरा केही हदसम्म देखिएको दाबी गरे। फिल्म चाहना अनुसार बनेको भन्दै आफूले 'पिताम्बर' मा स्क्रिप्ट भन्दा पनि निर्देशक कृषाको 'इन्टेन्सन' हेरेर काम गरेको खुलाए। उनले आफ्नो करियरमा यो फिल्म नयाँ खुड्किलो हुने दाबी गरे।
निर्माता विशाल चौलागाईंले फिल्मप्रति आफ्नो रूची बढ्दै गएकाले अझ राम्रो फिल्म बनाउनेमा आफू प्रतिबद्ध रहेको बताए।
अभिनेत्री सुरक्षा पन्तले एउटा राम्रो टिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन्। अभिनेत्री सुपुष्पा भट्टले फिल्ममा आफूले ‘इमोसनल’ चरित्र निभाउनु परेकाले चरित्र विकासमा सहयोग पुगेको बताइन्। अर्की अभिनेत्री दिव्या रायमाझीले फिल्मबाट आफूले धेरै सिक्न पाएको बताइन्।
'ऐंचोपैंचो' डेब्यु निर्देशक चौलागाईंको यो दोस्रो निर्देशकीय फिचर फिल्म हो। केपी फिल्मस् र पुरूषोत्तम प्रधान फिल्मस्को ब्यानरमा 'पिताम्बर' बनेको हो।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरूषोत्तम प्रधान, आध्या लामिछाने र आरोह चौलागाईं सह–निर्माता छन्। सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका हुन्।
फिल्ममा पुरूषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ।
यो फिल्म नेपाली नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिजको तयारीमा छ। यसलाई आरआर फिल्मस्ले वितरण गर्दैछ।