वरिष्ठ कलाकार हरिवंश आचार्यको मुख्य अभिनय रहेको फिल्म 'भूठान' को प्रदर्शन मिति घोषणा गरिएको छ। 'बुलबुल' का निर्देशक विनोद पौडेलको निर्देशन रहेको यो फिल्म आउँदो बैशाख १२ गते रिलिज हुने भएको हो।
पौडेल निर्देशित 'बुलबुल' ९२ औं अस्कर अवार्डमा नेपालको तर्फबाट मनोनित भएको थियो भने पौडेलले नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए।
अंग्रेजीमा 'द वर्ल्डस् ह्याप्पिएस्ट म्यान' नाम रहेको 'भूठान' को मुख्य भूमिकामा हरिवंश आचार्यसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द (लामा), ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन्।
हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन्।
निर्देशक पौडेल यो फिल्म संसारभरका दर्शकको लागि बनाएको र विश्वको जुनसुकै कुनाको जोसुकैले हेर्दा पनि कथाको भाव र गहिराइ महशुस गर्नेमा आफू विश्वस्त रहेको बताउँछन्।
निर्मातामध्येका एक अविरल थापाका अनुसार फिल्ममा हरिवंश आचार्यको अहिलेसम्म कतै नदेखिएको नयाँ लुक्स र अदभूत अभिनय देख्न पाइनेछ।
यसका अर्का निर्माता राजेन्द्र ठकुराठीका अनसार विश्वभरिका सिनेमाहलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा यस फिल्लाई एकै मितिमा प्रदर्शन गर्नको लागि पनि काम भइरहेको छ।
भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफ्नो जराको खोज समेटेर बनेको यस फिल्मको सम्पूर्ण छायाँकन अमेरिकामै गरिएको हो।
फिल्मको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताव जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन्। कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, एल एन अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् भने सह–निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली छन्।
फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, सूर्य शाहीको कास्टिङ, उज्ज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन छ।
फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट ईन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो।
नेपालमा यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ।