यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'कार्साङ' को बुधबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरिएको छ।
बिग मुभिजमा गरिएको प्रिमियरमा फिल्मकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहयो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक दीपाश्री निरौला, अनुप बराल, गायक कमल खत्री, मेलिना मैनाली लगायत थुप्रै कलाकारहरू सहभागी रहे।
प्रिमियरमा जितु नेपाल, दीया मास्के, नव अभिनेत्री सिर्जना निङलेखु लगायत उपस्थित रहे भने मुख्य अभिनेता दयाहाङ राई व्यस्तताले उपस्थित हुन नसकेको जानकारी दिइयो।
फिल्म हेरेर निस्किँदै गर्दा अधिकांशले राम्रो प्रतिक्रिया दिए। मौलिक कथावस्तु, कलाकारहरूको अभिनय लगायतका पक्षको तारिफ गरे।
'कार्साङ' मा यम शेर्पाको लेखन तथा निर्देशन छ।
ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित 'कार्साङ' ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ। यद्यपि, सबैले फिल्म रिलेट गर्ने निर्देशकको दाबी छ ।
फिल्ममा दयाहाङ राई, जितु नेपाल, दीया मास्के, सिर्जना निङलेखु, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारहरूको अभिनय छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता छायांकार समेत रहेका पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।
हलहरूले फिल्मलाई सुखद् शो दिँदै अग्रिम टिकट बुकिङ खुलाइसकेका छन्।
तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी