फिल्म 'कार्साङ' को ट्रेलर सार्वजनिक भएको छ।
बुधबार ओएसआर डिजिटलको युट्युबमार्फत रिलिज ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ। शेर्पा समुदायको संस्कृतिमा आधारित रहेर निर्माण गरिएको फिल्मलाई यम शेर्पाले निर्देशन गरेका हुन्।
सार्वजनिक ट्रेलर फिल्मका शीर्ष कलाकारहरू दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के लगायतको वरीपरी घुमेको छ।
निर्देशक शेर्पाका अनुसार 'कार्साङ' ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित फिल्म हो।
फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ। यद्यपि, सबैले फिल्म रिलेट गर्ने निर्देशकको दाबी छ।
फिल्ममा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारहरूको पनि अभिनय छ।
यार्सा फिल्म्स र पुरूषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको ‘कार्साङ’ को निर्माता तथा छायांकार पुरूषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा छन्।
फिल्म पुस २६ गते रिलिज हुने तयारीमा छ।