फिल्म 'जन्ते बाख्रो' को काठमाडौंमा शुभमुहूर्त गरिएको छ। सिमोस सुनुवारको निर्देशनमा निर्माण हुन लागेको फिल्मको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरिएको हो।
फिल्मका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका थिए। फिल्मको छायांकन भने पुस २० गतेबाट सुरू हुनेछ।
यो फिल्ममा सौगात र गरिमासहित आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रूषा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायत कलाकारहरूको अभिनय रहनेछ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा निर्माण हुँदैछ। यसमा प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन छ भने निर्माता सन्तोष गौतम हुन्।
बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ। फिल्मको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ। फिल्म हरि हुमागाईंले खिच्नेछन्।