पछिल्लो समय नेपाली फिल्मको व्यापार एकदमै राम्रो देखियो। तिहारको अवसर पारेर कात्तिक १५ गते रिलिज 'पूर्ण बहादुरको सारंगी' अझै हलमा लागिरहेको छ। यो फिल्मले शुक्रबारमात्रै ३८ वटा हलमा प्रदर्शनको ५१ औं दिन मनाएको छ।
कात्तिक ३० गते रिलिज 'ह्रस्व दीर्घ' पनि लामै समय प्रदर्शन भयो। मंसिर ७ गते रिलिज फिल्म 'तेल भिसा' भारतीय फिल्म 'पुष्पा २' को दबदबाबीच पनि अझै हलमा टिकिरहेको छ।
मंसिर २० गतेदेखि रिलिज 'पुष्पा २' को दबदबा हलमा अझै कायमै छ। यही माहोलकाबीच झन्डै एक महिनापछि आजदेखि हलमा नयाँ नेपाली फिल्म 'बम बहादुर' रिलिज भएको छ।
जोन राई निर्देशित यो फिल्ममा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा छन्।
यो फिल्मलाई मल्टिप्लेक्स हलहरुले भने न्यून शो दिएका छन्। जसका कारण फिल्मको व्यापार यसको वर्ड अफ माउथमा भर पर्ने देखिन्छ। 'बम बहादुर' मा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, शान्तिला तामाङ लगायत कलाकारहरुको अभिनय छ।
सञ्जिव सार्की निर्माता रहेको फिल्मको कथा र पटकथा निर्देशक जोन राई र रूपेश तामाङले मिलेर लेखेका हुन्। यसले भारतका नेपालीभाषी त्यसमा पनि विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुबर्समा बसोबास गर्नेहरूको कथालाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।
सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा रहेर कथा बुनिएको बताइएको छ।