पुस २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो, कार्साङ। रिलिज मिति नजिकिँदै गर्दा गतसाता यो फिल्मको टिजर सार्वजनिक गरियो। जसलाई दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
फिल्मको विषय, संस्कृतिको उठान र टिजरमा देखिएको सम्बन्ध र आम समुदायमा हुने व्यवहारलाई दर्शकहरूले मन पराइरहेको निर्देशक यम शेर्पा बताउँछन्।
'कमै मात्रै फिल्ममा देखिएको शेर्पा समुदायको कथा हेर्न पाइने भयो भन्ने उत्सुकता देखिएको छ,' निर्देशक शेर्पाले भने, 'आम नेपाली गाउँले जीवनको कथा र परिवेश हेर्न पाइने भयो भन्ने उत्सुकता व्यक्तिगत रूपमा र सामाजिक सञ्जालमार्फत पनि आइरहेको छ।'
कलाकारको क्यारेक्टर लुक्स र अभिनयको पनि तारिफ गरेको शेर्पाले बताए । सामाजिक सञ्जाल र सुभेच्छुकहरूबाट आएको प्रतिक्रियाले पोष्ट प्रोडक्सनमा रहेको फिल्ममा थप मेहनत गर्ने हौसला मिलेको उनले बताए।
फिल्मको सार्वजनिक टिजरमा ग्रामीण परिवेश र शेर्पा समुदायको संस्कृति देख्न सकिन्छ। जसमा दयाहाङ राई शेर्पा समुदायको झांक्रीको भूमिकामा छन्। उनको गरिबीदेखि जितु नेपाल र दीया मास्के जोडीको सन्तान नहुँदाको तनाव समेतलाई टिजरमा समेटिएको छ।
ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्दाको कथा पनि यसमा समावेश छ। फिल्ममा दयाहाङ राई, जितु नेपाल, दीया मास्के, सिर्जना निङलेखु र बुद्धि तामाङको मुख्य भूमिका छ।
फिल्मको कथा पनि निर्देशक शेर्पा स्वयंले लेखेका हुन्। 'कार्साङ' यार्सा फिल्म्स र पुरूषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको हो।
छायांकार रहेका पुरूषोत्तम प्रधान फिल्मको निर्माता पनि हुन्। सह–निर्मातामा गोविन्द बोहरा र कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा छन्।
'कार्साङ' नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ।