दिनेश राउतको निर्देशनमा फिल्म 'महाभोज' बन्ने भएको छ।
सोमबार उनले सामाजिक सञ्जालमार्फत फिल्म निर्माण घोषणा गरेका हुन्। फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरूना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, कमलमणि नेपालको मुख्य भूमिका रहनेछ।
यसअघि 'नांगो गाउँ', 'दुखी आत्मा' जस्ता फिल्म निर्माण गरेका निर्माता हिमाल कडरियाको यस फिल्ममा लगानी रहनेछ। फिल्म निर्माणमा कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गरेका छन्।
निर्देशक राउतका अनुसार 'महाभोज' सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरूद्धको विद्रोही अभियान हो। 'आम मानिसहरूको जीवन र उनीहरूको भरोसाको पक्षमा उभिने र सत्यका लागि लड्ने र अन्यायको विरूद्ध आवाज उठाउने कथा हामीले यस फिल्ममार्फत प्रस्तुत गर्दैछौं,' उनले भने।
फिल्मको माघ १ गतेदेखि छायांकन सुरू हुनेछ। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।