यतिबेला हलमा 'पूर्णबहादुरको सारंगी', 'ह्रस्व दीर्घ' र 'तेल भिसा' गरी तीनवटा नेपाली फिल्म प्रदर्शनरत छन्। यीमध्ये 'पूर्णबहादुरको सारंगी' चौथो सातामा प्रदर्शन भइरहेको छ।
'ह्रस्व दीर्घ' दोस्रो सातामा छ भने 'तेल भिसा' गत शुक्रबार रिलिज भएको हो। 'तेल भिसा' सँगै रिलिज 'अग्निदहन' भने अधिकांश हलबाट उत्रिसकेको छ।
हलमा असोज लागेसँगै फिल्म रिलिजको चाप देखिएको थियो। एकैदिन तीन वटासम्म पनि फिल्म रिलिज भएका थिए। अब भने केही समय हलमा नयाँ नेपाली फिल्मको खडेरी देखिने भएको छ।
वितरक करण श्रेष्ठका अनुसार मंसिरमा अब नयाँ नेपाली फिल्मको रिलिज छैन।
एकैपटक पुस ५ मा सौगात मल्ल अभिनीत 'बम बहादुर' रिलिज हुने उनले बताए।
उक्त फिल्म रिलिजको तीन सातापछि बल्ल अर्को नेपाली फिल्मको रिलिज तय छ।
पुस २६ मा दयाहाङ राई र जितु नेपालको फिल्म 'कार्साङ' रिलिज हुनेछ।
यो बीचमा अल्लु अर्जुन अभिनीत 'पुष्पा २' सहित केही विदेशी फिल्म भने रिलिज हुनेछन्।
'पुष्पा २' मंसिर २० देखि प्रदर्शनमा आउनेछ।
मंसिर, पुसमा विगतका वर्ष पनि फिल्मको खडेरी देखिने गरेको थियो। माघमा भने केही नेपाली फिल्मले प्रदर्शन तय गरेका छन्।