अभिनेत्री सुहाना थापा फिल्म 'परालको आगो' मा अनुबन्धित भएकी छन्। कथाकार गुरूप्रसाद मैनालीको कृति 'परालको आगो' मा केन्द्रित रहेर यो फिल्म निर्माण हुन लागेको हो।
फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई फिल्ममा अनुबन्धित गरेका हुन्।
मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिएको छ। 'परालको आगो' मैनालीको कथा संग्रह 'नासो' मा संग्रहित छ।
फिल्ममा अनुबन्धित भएपछि सुहानाले खुसी व्यक्त गर्दै भनिन्, 'एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो। त्यहीकारण मैले घरबाहिरको फिल्म पहिलोपटक साइन गरें।'
सुहानाले यसअघि आमा झरना थापाको निर्देशन र बुवा सुनीलकुमार थापाको निर्माण रहेका फिल्ममा मात्र काम गरेकी थिइन्।
निर्माता पोखेलका अनुसार फिल्म 'परालको आगो' को प्रदर्शन २०८२ को दसैंमा हुनेछ। यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए।
निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए।
लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायांकनमा जानेछ।
कथा 'परालको आगो' मा दुई पात्र चामे र गौँथलीको झै–झगडालाई प्रस्तुत गरिएको छ।