भारतीय अभिनेता प्रदीप रावत 'ह्रस्व दीर्घ' का दर्शक भेट्न हल पुगेका छन्।
आइतबार बेलुका काठमाडौं आएका उनी सोमबार बेलुका कमलपोखरीस्थित बिग मुभिज पुगेर आफू अभिनीत नेपाली फिल्म हेर्न आएका दर्शकसँग साक्षात्कार गरेका हुन्।
फिल्मको टिमसँग हल पुगेका उनले मिडियाकर्मीसँग अन्तरक्रिया समेत गरे। रावतसँगै उनकी श्रीमती अभिनेत्री कल्याणी पनि हल पुगेकी थिइन्।
रावत मंगलबार पनि काठमाडौंका हलमा पुगेर दर्शकलाई भेट्नेछन्।
उनी बुधबार नेपालगञ्ज पुगेर त्यहाँका दर्शकलाई भेट्ने कार्यक्रम तय भएको निर्देशन चन्द्र पन्तले बताए।
फिल्ममा रावतले अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका छन्। उनी बिहीबार भारत फर्किने कार्यक्रम छ।
नीता ढुंगाना निर्मित 'ह्रस्व दीर्घ' शुक्रबारदेखि प्रदर्शनमा आएको हो।
फिल्मले बक्स अफिसमा सुखद् कमाइ गरिरहेको छ।
फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, बिपना थापा, गरिमा शर्मा, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईँटेल, सरोज खनाल, नरेन खड्का, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायत कलाकारको अभिनय छ।


