नेपाल र दक्षिण भारतका चर्चित कलाकारहरू अभिनीत नेपाली फिल्म 'ह्रस्व दीर्घ' आज (शुक्रबार)देखि प्रदर्शनमा आएको छ।
हलमा 'पूर्णबहादुरको सारंगी' को दबदबाबीच नीता ढुंगाना निर्मित फिल्म रिलिज भएको हो।
'ह्रस्व दीर्घ' लाई देशको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले देशव्यापी ४६ शो दिएको छ भने आईएनआईले ८ शो दिएको छ। त्यस्तै, फिल्मले बिग मुभिजमा ६, वान सिनेमाजमा ९ शो पाएको छ। प्राप्त शोमा अग्रिम टिकट बिक्रीको अवस्था हेर्दा सुखद् देखिन्छ।
यो फिल्मले पाएको शो स्टारकास्ट, लगानी र हाइप अनुसार प्रर्याप्त नभए पनि निराशाजनक चाहिँ होइन।
'पूर्णबहादुरको सारंगी' मा दर्शकको चाप कायम रहेकाले 'ह्रस्व दीर्घ' का लागि प्राप्त शोलाई अकुपेन्सीमा बदल्नु मुख्य चुनौती हो।
यदि फिल्म हेर्न दर्शकको चाप देखिए शो संख्या बढ्नेछ। राम्रो व्यापारका लागि फिल्मको वर्ड अफ माउथ पनि बलियो हुनुपर्ने देखिन्छ।
चन्द्र पन्त निर्देशित 'ह्रस्व दीर्घ' नीता फिल्मस्को ब्यानरमा बनेको हो। यसको निर्मात्री अभिनेत्री नीता ढुंगाना हुन्।
फिल्मको कथा र पटकथा ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीको हो भने संवाद प्रतीक पौडेलले लेखेका हुन्।
फिल्ममा नीता र हरिहरसहित ब्रह्मानन्दम, प्रदीप रावत, बिपना थापा, सुनील वर्मा, कबीर दुहान, मोहम्मद अली, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ। अभिनेत्री बिपना थापाले यो फिल्मबाट १६ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन्।
२ घण्टा ३५ मिनेटको फिल्म एक्सन, लभ, कमेडी र इमोशनको प्याकेज भएको निर्माण पक्षले जनाएको छ। कथादेखि अभिनय, प्राविधिक पाटोमा भरपुर मेहनत गरिएकाले दर्शकले रुचाउने विश्वास निर्माण पक्षको छ।
'ह्रस्व दीर्घ' भारतीय छायांकार कवीरलालले खिचेका हुन्। फिल्मको लगानी ६ करोड रहेको बताइएको छ। हिन्दी र तेलुगु भाषामा पनि फिल्म रिलिज हुनेछ।
यो पनिः अभिनेत्री र ज्योतिषी जोडीबीच प्रेम, विवाह, सिनेमा र ज्योतिषशास्त्रको कुराकानी (भिडिओ)