महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म 'अञ्जिला' को वर्ल्ड प्रिमियर हङकङमा हुने भएको छ।
शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै मंसिर २३ (डिसेम्बर ८) मा वर्ल्ड प्रिमियर हुने भएको जानकारी दिइएको हो।
प्रिमियरमा एञ्जिला तुम्बापो सुब्बा र निर्देशक मिलन चाम्स सहभागि हुनेछन्।
हङकङ प्रिमियरपछि नेपाल रिलिजअगावै यो फिल्मको प्रदर्शनी युके, अमेरिका, अस्ट्रेलिया र जापानमा हुने निर्माता प्रेम कुमार श्रेष्ठले बताए। नेपालमा भने यो फिल्मको रिलिज मिति फागुन २९ गतेलाई तोकिएको छ।
फिल्ममा एञ्जिला आफै मुख्य भूमिकामा देखिएकी छिन् भने दयाहाङ राई, सुनील थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरूङ र बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय छ। निर्माता प्रेम कुमार श्रेष्ठले पनि फिल्मको अभिनय गरेका छन्।
फिल्मको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ।
निर्देशक मिलन चाम्सले यो फिल्मले फरक प्रकारको प्रभाव छोड्ने विश्वास व्यक्त गरे। उनका अनुसार फिल्मले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको छ।
फिल्मलाई सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेका छन्।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मको सह–निर्मातामा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन्।