लक्ष्मीपूजाको दिन रिलिज फिल्म 'पूर्ण बहादुरको सारंगी' को 'वर्ड अफ माउथ' बलियो देखिएको छ।
विजय बराल र प्रकाश सपुत अभिनीत यो फिल्मलाई दर्शकले सुखद् प्रतिक्रिया दिइरहेका छन्।
पहिलो दिन बिहीबारको अकुपेन्सी कम देखिए पनि शुक्रबारदेखिका शोमा अकुपेन्सी बढेको छ। शनिबार धेरै हलमा फिल्मले हाउसफुल व्यापार गरेको थियो। आइतबार भाइटीकाको दिन मध्यान्हदेखि बेलुकासम्मका शो हाउसफुल छन्।
दर्शकको वर्ड अफ माउथ सकारात्मक हुनु फिल्मको बलियो पक्ष भएको निर्माता बिनोद पौडेल बताउँछन्।
'शुभदिनमा रिलिज गरौं भनेर लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा ल्यायौं। त्यसदिन राम्रो गर्छ भन्ने ठूलो अपेक्षा पनि राखेका थिएनौं। पहिलो दिनको व्यापार कम नै हो। तर पनि जतिले हेर्नुभयो, एकदमै राम्रो प्रतिक्रिया पायौं,' पौडेलले भने, 'दर्शकको राम्रो वर्ड अफ माउथले शुक्रबारदेखि फिल्मले राम्रो गर्यो। शनिबार अधिकांश शो हाउसफुल रहे। आज पनि सबै शो हाउसफुल छन्।'
दर्शकहरूले फिल्मलाई आफ्नो जीवनसँग निकट रहेको र हेरिरहँदा भावुक बनाएको प्रतिक्रिया दिएका छन्। फिल्मको कथा, संवाद, अभिनय, गीतसंगीत लगायतका पक्षले मन छोएको दर्शक प्रतिक्रिया छ।
कतिपय दर्शकहरू फिल्म हेरिरहँदा आँखाबाट आँशु झारिरहेको र भावुक बनेको भिडिओ क्लिप समेत सामाजिक सञ्जालमा आइरहेका छन्।
यो फिल्मका अधिकांश शो हाउसफुल हुँदा पनि हलले हिन्दी फिल्मलाई बढी शो दिएर आफूहरूलाई कम शो दिएको निर्माताको गुनासो छ।
'शो कम मात्र होइन्, ठूला हल भारतीय फिल्म दिएर हामीलाई सानो हल दिइएको छ,' निर्माता पौडेलले भने।
आफूले फिल्म उतार्छु भनेपछि कतिपय हलले भने शो बढाइदिएको उनले बताए।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको 'पूर्ण बहादुरको सारंगी' गन्धर्व समुदायको कथामा बनेको फिल्म हो। यसले बाबुछोराको सम्बन्ध, छोराको सफलताका लागि बाबुले गरेको संघर्षको कथा भन्छ।
फिल्ममा विजय र प्रकाशका साथमा अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, अलिशा बास्तोला, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, माओत्से गुरूङ, जान्वी पौडेल, स्वयंम केसी लगायत कलाकारहरूको अभिनय छ।
बिनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मका निर्माता हुन्।