बोक्सी अन्धविश्वासविरुद्धको कथावस्तुमा निर्माण गरिएको फिल्म 'अग्निदहन' को गीत सार्वजनिक गरिएको छ।
सार्वजनिक 'दाइ दाइ नभन मलाई' बोलको गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर छ। परशुराम अधिकारीको संगीत रहेको गीतका शब्द लोकमणि पौडेलका हुन्।
धर्मेन्द्र पौडेलको कोरियोग्राफीमा तयार भिडिओमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे, प्रसिना आचार्य लगायत फिचर्ड छन्। विवाहको सेटअपमा गीत तयार पारिएको छ।
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास 'अग्निदहन' मा आधारित रहेर निर्माण गरिएको यो फिल्म आगामी मंसिर ७ गते रिलिज हुँदैछ। यस फिल्मलाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो। यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएर छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो।
फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन्। निर्देशक लामिछाने एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताउँछन्।
'फिल्ममा थ्रिल, सस्पेन्स सबै छ। उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं। फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ', उनी भन्छन्।
फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताएका छन्। उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ।
फिल्ममा मुख्य भूमिकामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरूङको अभिनय छ।
फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ।