दसैं फूलपातीमा रिलिज फिल्म '१२ गाउँ' ले आक्रामक व्यापार गरिरहेको छ।
अभिनेता विराज भट्टले आफ्नो छोरा समीरलाई यसबाट नेपाली फिल्ममा डेब्यु गराएका छन्।
फिल्म रिलिजसँगै यसले दर्शकको साथ पाइरहेको छ। रिलिजको १३ औं दिनसम्म आइपुग्दा पनि दर्शक अकुपेन्सी उच्च देखिन्छ।
फिल्म हेरेका दर्शकले यतिबेला समीरको सुगठित शरीर, आवाज, एक्सन र नृत्यको प्रशंसा गरिरहेका छन्।
नेपाली फिल्मले सम्भावना बोकेको एक्सन अभिनेता पाएको धेरैको विश्लेषण छ। समीरले अब सन्तोष सेनको फिल्म 'बलिदान' मा शीर्ष भूमिकामा अभिनय गर्दैछन्।
'१२ गाउँ' बाट समीरसँगै तीन अभिनेत्रीले पनि डेब्यु गरेका छन्। यसबाट गुजराती फिल्म र टिभी सिरिजकी अभिनेत्री सोनु चन्द्रपालले नेपाली फिल्ममा डेब्यु गरेकी हुन् भने म्युजिक भिडिओमा रूचाइएकी मोडल सनिशा भट्टराई र पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काको यो पहिलो फिल्म हो।
सोनु चन्द्रपाल
'१२ गाउँ' मा अभिनेता समीर भट्टको जोडीका रूपमा प्रस्तुत सोनु चन्द्रपाल भारतीय अभिनेत्री हुन्। अहमदाबास गुजरातकी उनले सन २०१३ देखि अभिनय करिअर सुरू गरेकी थिइन्।
उनी टीभी सिरिज 'सुहानी सी एक लडकी', 'श्रीमद् भागवत महापुराण' लगायतमा काम गरेकी छिन्। गुजराती फिल्ममा समेत अभिनय गरिसकेकी उनी मुम्बईमा बस्दै आएकी छिन्।
सनिशा भट्टराई
पोखराकी सनिशाले 'ए होर माया' बोलको गीतबाट दुई वर्षअघि मात्रै म्युजिक भिडिओ करिअर सुरू गरेकी थिइन्। पहिलो काम नै रूचाइएपछि उनी म्युजिक भिडिओमा व्यस्त बन्दै गइन्।
थुप्रै म्युजिक भिडिओमा मोडलिङ गरेकी सनिशाले '१२ गाउँ' मा इनोसेन्ट युवतीको भूमिका निर्वाह गरेकी छिन्।
केही दिन हल भिजिटमा हिँडेकी उनी यतिबेला अर्को फिल्म ‘नरसिंहा अवतार’ को छायांकनमा छिन्। दिवाकर भट्टराईको निर्देशनमा बनिरहेको यो फिल्मबाट अभिनेता राजेश हमालले ७ वर्षपछि कमब्याक गर्दैछन्।
न्यान्सी खड्का
मिस नेपाल इन्टरनेशनल २०२२ की विजेता न्यान्सी खड्का विराटनगरकी हुन्।
'१२ गाउँ' मा उनी विराजको जोडी बनेर प्रस्तुत छिन्। उनले निर्वाह गरेको हक्की स्वभावकी युवतीको भूमिकालाई दर्शकले रूचाइरहेका छन्।
उनी विराज र समीरसँग हल भिजिटमा समेत हिँडिरहेकी छिन्।